नेपाल स्पेन समाचार तपाई हरुको हार्दिक स्वागत गर्दै निस्पल्क्ष सत्य र राजनैतिक तथा सामाजिक समाचार लाई प्राथमिकता दिदै समाचार को अपेक्षा गर्दछ

गृह - बिचार तथा बिस्लेशण - शुभ कामना- साहित्य- प्रवासी समाचार- ब्यक्ती / ब्यक्तित्व- मोडेल - धर्म- ड्राईभिङ - भाषा परिवर्तन - फन्ट डाउन्लोड -नेपाली टाईप - हाम्रो बारेमा

Wednesday, September 8, 2010

नेपाली कांग्रेस र लोकतन्त्र - दीपक चौधरी

प्रजातान्त्रिक भनेर दाबी गर्ने तर बन्द कोठाभित्र गुट-उपगुट खडा गरेर अघि बढ्ने पुरानो मानसिकता र परम्पराबाट मुक्त हुन नसक्ने हो भने धनतन्त्र र मौकापरस्तहरूले कांग्रेस पार्टी सजिलै कब्जा गर्नेछन्





एकातिर देशमा अहिले सरकारविहीनता, राजनीतिक खिचातानी-अन्योलतासँग बाह्य तथा आन्तरिक पक्षबाट लोकतन्त्रमाथि नै प्रहार भइरहेको स्थिति छ भने अर्कोतिर नेपालको सबैभन्दा ज्येष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेपाली कांग्रेस आफ्नो नयाँ नेतृत्व छान्ने अन्तिम घडीमा छ । कांग्रेसको क्षेत्रीय र स्थानीय स्तरमा युवाहरूको वर्चश्वको समाचार जति सुखद् थियो, केन्द्रीय नेतृत्वमा युवाहरूको फितलो प्रयास र उपस्थिति निराशजनक मान्नुपर्छ । केन्द्रीय नेतृत्वका लागि देखिएका अनुहारहरूलाई हेर्दा कांग्रेसको जीवन्तता र जुझारूपनको सम्भावना न्यून रहेको एक पुराना बौद्धिक कांग्रेसीको भनाइ आफैँमा असत्य छैन ।

वर्षौंदेखि चुनाव हुन नसकेर जर्जर बनेको संगठनमा अहिलेको महासमितिले केही हावा भर्ने आशा गर्न सकिन्छ । सामूहिक-ढुलमूले नेतृत्वको सट्टा एकल अध्यक्षात्मक पद्दतितर्फ उन्मुख कांग्रेसबाट तीन पटकसम्म प्रधानमन्त्री भइसकेका र प्रजातन्त्रको हरणको आरोप लागेका तथा असक्षमजस्ता पदवीहरूबाट विभूषित शेरबहादुर देउवाको प्यानल एकातिर छ भने अर्कोतिर संगठन गर्न नसक्ने आरोप खेपेका, र कार्यकर्तार् माझ जम्न नसकेका सुशील कोइरालाको प्यानल छ । सम्भावित सभापतिका यी दुवै उम्मेदवार सैद्धान्तिक र बौद्धिक क्षेत्रमा जमेका नाम होइनन् । प्रधानमन्त्रीको दौडमा फस्न पुगेका रामचन्द्र पौडेलको चर्चा सुनिन छाडेकोे छ ।

इमानदार तथा राजनीतिमा सोझा भीमबहादुर तामाङ र कांग्रेसका थिंक टैंकका रूपमा परिचित तर संगठनमा फितलो पकड भएका पार्टीका एक्ला बौद्धिक बृहस्पति नरहरि आचार्यको जोडी तेस्रो धारका रूपमा देखापरेको छ । सम्भवतः विपीपछि कांग्रेसमा सैद्धान्तिक-वैचारिक हावा भर्ने र पार्टीलाई देशको परिवर्तन र रूपान्तरणको समयमा सकारात्मक वैचारिक योगदान कसैले दिएको छ भनिन्छ भने त्यो नरहरि आचार्यले नै दिएको हुनुपर्छ ।

कांग्रेसमा तेस्रो धार देखिनु स्वाभाविक भए पनि अहिले देखिएको तेस्रो धारले धनतन्त्रको प्रभाव रहेको मानिएको नेपालको राजनीतिमा, त्यसमा पनि नेतृत्वमा स्थापित हुन नसक्ने धेरैको भनाइ छ, यसको मतलव दह्रो र सक्षम नेतृत्व कांग्रसले यसपालि पनि नपाउने अड्कलबाजी गर्न सकिन्छ । तेस्रो धारले बरु कोइराला वा देउवा पक्षमध्ये एकलाई जिताउन मद्दत पुग्ने बताइन्छ ।

यसपालिको स्थानीय तथा जिल्ला नेतृत्वको प्रतिस्पर्धामा को आए भन्दा पनि कसको प्यानल आयो भन्ने कुराले विशेष महत्त्व पाएबाट कांग्रेसमा गुट तथा समूह कति हदसम्म हावी भएको छ भन्ने बुझन गाह्रो पर्दैन । सुरुदेखि नै प्रजातन्त्र, राष्ट्रियता र समाजवादको नारा लगाउँदै आएको कांग्रेस नेतृत्वको निर्वाचन एउटा विषम परिस्थितिमा हुन लागेको छ । यसबेला लोकतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको छ र देशको राजनीतिक अवस्था अत्यन्तै तरल र अन्योलग्रस्त छ । शान्तिप्रक्रिया धरापमा पर्दै छ, सेना लोकतान्त्रिक सरकारको वशमा हालसम्म हुन सकेको छैैन, कुशासनको कुरागरी साध्य छैन, विकासकार्य ठप्पप्रायः छ, मानिसमा निराशजनक कुरा बढी सुनिन्छ, र सरकार नभएको अवस्था छ ।

अर्कोतिर राजनीतिक दलबीच सहमति हुन सकिरहेको छैन, नेताहरू पत्रिका र टिभीमा आदर्शका कुरा गरिरहेका भेटिन्छन्, तर व्यवहार ठीक उल्टो छ । अर्कोतिर राजनीतिक अन्योल र अस्थिरताका बाबजुद लोकतन्त्रको सम्बर्धन र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सञ्चारमाध्यममा प्रहार गर्ने क्रम रोकिएको छैन । विगतका दिनमा सञ्चारमाध्यममा हुँदै आएका सांघातिक हमला र हालै बहुराष्ट्रिय कम्पनीको उत्पादनमा देखिएको कमीकमजोरी नेपालका मिडियाले उजागर गर्दा उल्टै नेपालका सञ्चार मिडियालाई एक छिमेकी राजदूतावासले दिएको धम्कीपूर्ण चेतावनीको स्वर लोकतन्त्रमाथि खुला प्रहार नमान्ने सायदै होलान् । प्रजातान्त्रिक छिमेकी देशबाट सञ्चारमाध्यमलाई यस्तो धम्की आउनु आश्चर्यजनक तर दुर्भाग्यपूर्ण रहेकामा विमति राख्ने ठाउँ छैन ।

दलहरूको अलमलको मौका छोपेर लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाइ आफ्नो प्रभुत्व जमाउन र नाजायज स्वार्थ पूरा गर्न विभिन्न तत्त्वहरूले सञ्चारमाध्यममाथि प्रहार गर्नु 'स्वाभाविक' भए पनि सञ्चारमाध्यमको दह्रो उपस्थितिले नै नेपालमा सैन्य तथा अन्य अधिनायकवादले टाउको उठाउन नसकेको हो । कुशासन तथा भ्रष्टाचारका विरुद्ध अहिलेको अन्योलयुक्त अवस्थामा सञ्चारमाध्यमहरूले सशक्त आवाज नदिने हो भने नेपालको अवस्था कस्तो हुने हो भन्ने कल्पना गर्न सकिन्न । देशभित्र राज्यको पहुँच प्रभावशाली हुन नसकेको अहिलेको अवस्थामा नेपाली समाजलाई गतिशीलता प्रदान गर्ने काम कसैले गरेको छ भने त्यो सञ्चार क्षेत्रले नै गरेको हुनुपर्छ ।

दक्षिण एशियाको सन्दर्भमा अस्थिर राजनीतिका बाबजुद पनि नेपालमा जस्तो सञ्चारमाध्यम तथा पत्रकारिताको विकास अन्यत्र सायदै भएको होला । यसले सहिष्णु, प्रजातान्त्रिक, उदार र प्रगतिशील समाजको निर्माणमा उल्लेख्य भूमिका खेल्दै आएको छ । तर, नेपालका सञ्चार क्षेत्र असमावेशी भएको आरोप पनि असत्यचाहिँ होइन । गाउँमा स्थानीय एफ्.एम्. ले खेलेको भूमिका विकास र जनचेतनाको सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण छ । सिमानानजिकका शहरबाट स्थानीय भाषामा बज्ने एफ्.एम्.हरूबाट छिमेकीहरूसमेत प्रभावित हुँदै आएका छन् ।

यी सबै कुरालाई हेर्दा अहिलेको तरल राजनीति र लोकतन्त्रमाथिको संकटपूर्ण अवस्थामा नेपाली कांग्रेसले आफूलाई कसरी अगाडि बढाउने भन्ने कुराप्रति आममानिसले रुची राखेका छन् । नेपाली कांग्रेसका भावी नेतृत्वका उम्मेदवारहरूको राष्ट्रिय समसामयिक मुद्दाप्रतिको दृष्टिकोण र अन्तर्राष्ट्रिय तथा छिमेकीसँगको सम्बन्धका बारेमा दृष्टिकोण र धारणा आउनुपर्ने अन्तर्राष्ट्रिय प्रजातान्त्रिक मूल्य, मान्यताविपरीत मौनता देखिनु राम्रो होइन । प्रजातान्त्रिक भनेर दाबी गर्ने तर बन्द कोठाभित्र गुट-उपगुट खडा गरेर अघि बढ्ने पुरानो मानसिकता र परम्पराबाट मुक्त हुन नसक्ने हो भने कांग्रेसमा धनतन्त्र र मौकापरस्तहरूले पार्टी सजिलै कब्जा गर्नेछन् ।

स्वतन्त्रतालाई प्रजातन्त्रको मियो ठान्ने कांग्रेसले विपी र गणेशमानपछि सन् १९९० को परिवर्तनपश्चात् विपीको समाजवादी अवधारणालाई तिलाञ्जली दिएर भएभरका सरकारी संस्थाहरूको उचित व्यवस्थापन गर्नुभन्दा बाहिरी दबाबमा कौडीको दाममा बेच्ने गलत आर्थिक नीतिबाट शिक्षा लिन नितान्त आवश्यक छ । यसले गरिब र वञ्चितहरूको पार्टीका रूपमा आफ्नो छविबाट कांग्रेस च्यूतमात्र भएन, आफ्नो आधारक्षेत्र मधेसबाट समेत हात धुनुपर्‍यो । समावेशी, समानता र न्यायको सिद्धान्तलाई धोती लगाउँदा मधेसी, जनजाति, दलित र पिछडावर्गमाझ कांग्रेस अलोकपि्रय मात्रै भएन, गुटबन्दीका कारण फुटको शिकारसमेत भयो ।

तर दुर्भाग्य, अहिले पनि कांग्रेस गुटबन्दीबाट माथि उठ्न सकेको छैन । कम्युनिस्टभन्दा राजावादी नै ठीक, त्यो भन्दा त्यो ठीक, संघीयता तथा समावेशी बेठीक भन्ने रूढिवादी विचार भएकाहरू नेपाली कांग्रेसमा पुनः स्थापित हुन खोज्नुले कांग्रेसका आगामी दिन चुनौतीपूर्ण रहनेमा शंका छैन । १२ वर्षको आन्तरिक खिचातानीबाट आहाल बनेको देशलाई निकाल्ने काममा शान्तिसम्झौतामार्फत् कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण रहँदारहँदै विभिन्न कारणले कांग्रेस यसबाट पछि पर्दै जानु पक्कै राम्रो मान्न सकिँदैन ।

संविधानसभा, संघीयता, समावेशी, समानता तथा सामाजिक न्याय विपी र कांग्रेसका आफ्नै एजेन्डाहरू हुन् भन्ने बिर्सिएर रूपान्तरण र परिवर्तन नचाहनेहरूसँग घाँटी जोड्दै जाने हो भने अहिलेको परिस्थितिमा भोलि तिनलाई जनतामाझ जान हम्मे पर्न सक्छ । देशलाई सही दिशा दिन आफैँभित्रैको अस्तव्यस्ततालाई चुस्त गर्दै नेतृत्वमा सही र पक्का कांग्रेसीको आगमनले मात्र कांग्रेसको पुनर्ताजगी सम्भव छ भनिरहनुनपर्ला ।
dipak10@gmail.com

No comments:

Post a Comment