नेपाल स्पेन समाचार तपाई हरुको हार्दिक स्वागत गर्दै निस्पल्क्ष सत्य र राजनैतिक तथा सामाजिक समाचार लाई प्राथमिकता दिदै समाचार को अपेक्षा गर्दछ

गृह - बिचार तथा बिस्लेशण - शुभ कामना- साहित्य- प्रवासी समाचार- ब्यक्ती / ब्यक्तित्व- मोडेल - धर्म- ड्राईभिङ - भाषा परिवर्तन - फन्ट डाउन्लोड -नेपाली टाईप - हाम्रो बारेमा

Tuesday, September 28, 2010

तीन थरी कांग्रेस

आधारभूतरूपमा प्रजातन्त्र मान्ने तीन थरी मानिसको संगम नेपाली कांग्रेसमा छ। एक कर्मकाण्डी कांग्रेस, दुई बाहुबली कांग्रेस, तीन बीपी कांग्रेस। तिनका रूपरङ बाह्रौँ महाधिवेशनमा प्रस्ट देखियो।
नवनिर्वाचित सभापति सुशील कोइरालाको नेतृत्वमा कर्मकाण्डी कांग्रेस छ।
 यसलाई तीन पल्ट कांग्रेस सभापति र पाँच पल्ट देशको प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाको 'बिरासत' भने हुन्छ। खासमा यो यथास्थितिवादी समूह हो जससँग राजनीतिक जाम खुलाउने सिर्जनशील चिन्तन छैन। जनताले नपत्याए पनि आफूलाई नम्बर एक ठान्ने कांग्रेसी मानसिकताको नेतृत्व यही समूहले गरेको छ। लोकतान्त्रिक संस्कार भएपछि मात्र कांग्रेसी हुन सकिन्छ भन्ने होइन, कांग्रेसी भएपछि स्वतः लोकतान्त्रिक भइन्छ भन्ने मानसिकता भएकाहरू यसमा छन्। कांग्रेसको नेतृत्व कोइराला परिवारबाट बाहिर जानुहुन्न भन्ने गिरिजाबाबुको सपनाले सुशील सभापति भएपछि निरन्तरता पाएको छ। उनीपछि म्याडम सुजातालाई सभापति बनाउने गहन दायित्व यसको काँधमा छ। आफूलाई 'डेमोक्रेट' भनेर नथाक्ने सुशील कोटरीको अघोषित सपना देशमा कम्युनिस्ट उन्मूलन गर्नु हो। नेपालका कम्युनिस्ट पार्टी बढीमा प्रगतिशील बुर्जुवामात्र हुन् भन्ने नबुझेर उसले यस्तो जपना गर्नुपरेको हो। देश गणतन्त्र र संघीयतामा प्रवेश गरिसके पनि कांग्रेसको ग्रन्थीमा संवैधानिक राजतन्त्र र एकात्मक राज्यव्यवस्था रहनुमा यसको भूमिका छ। बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार, पढ्न, लेख्न र बोल्न पाउने स्वतन्त्रताभन्दा बढी लोकतान्त्रिक रूपान्तरणको कुनै खाका यस समूहसँग छैन। पार्टीलाई विचारविहीन बनाउन यस समूहको योगदान महत्वपूर्ण छ।
बाहुबली कांग्रेसको नेतृत्व तीन पटक प्रधानमन्त्री खाइसकेका शेरबहादुर देउवाले गरिरहेका छन् जसको जीवनशैली नवसामन्ती संस्कृतिले सुसज्जित छ। खुमबहादुर खड्काको बोलावाला रहेको यस समूहसँग थ्री जी अर्थात् गोल्ड, गुन्डा र गन छ। लोकतन्त्र जीवनशैली बन्नुपर्छ भन्नेमा कुनै रुचि नभएको चरम दक्षिणपन्थी यो समूह सत्ताका लागि लोकतन्त्रलाई नै दाउमा राख्न तयार रहन्छ। उस्तै परे यसले कांग्रेसभित्रै अघोषितरूपमा राप्रपा नेपाल शाखा खोल्न सक्छ। राजाबाट पुनःस्थापित हुँदा सासू प्रतिभा राणालाई मन्त्री बनाएर देउवाले यसको संकेत ऊबेलै दिएका हुन्। एउटै सकारात्मक पाटो के छ भने यसले कांग्रेसमा कोइराला एकाधिकारलाई चुनौती दिएको छ। प्रदीप गिरिजस्ता चिन्तनशील नेता पनि यही समूहसँग छन्।
बीपी कांग्रेसको नेतृत्वमा नरहरि आचार्य र भीमबहादुर तामाङ छन् जो पछिल्लो महाधिवेशनमा क्रमशः महामन्त्री र सभापति उमेदवारका रूपमा पराजित भए। झन्डै ३१ सय महाधिवेशन प्रतिनिधिबाट सभापतिमा तामाङले ७८ र महामन्त्रीमा आचार्यले एक सय ५२ मत पाए। २०५१ सालको मध्यावधि चुनावमा रूपचन्द्र बिष्टले ८१ मत पाएका थिए। 'जागरणको यत्रो खडेरीमा यत्रो मत कसरी प्राप्त भयो?' भनेर बिष्टले आश्चर्य व्यक्त गरेका थिए। तामाङ र आचार्यले पाएको मत सायद त्यस्तै थियो। बीपीको आदर्श प्रजातान्त्रिक समाजवाद थियो। यो प्रजातन्त्रको जगमा फस्टाएको बजार अर्थतन्त्ररूपी क्रूर पुँजीवादलाई मानवीय अनुहार दिने प्रयास थियो। २०१२ सालको महाधिवेशनले बीपीको यही आदर्शलाई पार्टीको आधारभूत निर्देशक सिद्धान्त मानेको हो। यसैलाई कार्यान्यवन गर्ने प्रारम्भिक प्रयासस्वरूप उसले २०१६ सालमा बिर्ता तथा राजारजौटा उन्मूलन गरेको थियो। बीपी नेपाली कांग्रेसलाई गरिब किसानको पार्टी बनाउन चाहन्थे। हरेक परिवारलाई एउटा दुहुनो गाई र खान पुग्ने जमिन हुनुपर्छ भन्थे। नेपाली कांग्रेसमा आज बीपीको सपना रगतपच्छे छ। यसको सान्दर्भिकता वा आधुनिक स्वरूपबारे छलफल चलाउन कांग्रेस नेतृत्वलाई कुनै जाँगर छैन। प्रजातान्त्रिक समाजवाद उसको जपनामा यदाकदा आए पनि थपनाको मूल मन्त्र खुला बजार अर्थतन्त्र र अभ्यासचाहिँ चरम भाँडभैलोतन्त्र भएको छ। शिक्षा, स्वास्थ्य र रोजगार जनताका मौलिक अधिकार हुन सकेका छैनन्। धनी र पहुँच हुनेले अति उच्च स्तरको शिक्षा पाउँछन्। जति प्रतिभा भए पनि गच्छे र पहुँच नहुनेले पढ्नै पाउँदैनन्। स्वास्थ्य र रोजगारमा पनि यही भइरहेको छ। पैसा छैन भने बाँच्ने अधिकार पनि छैन। प्रजातन्त्र भनेको यस्तो कदापि होइन। हाम्रो प्रजातन्त्रमा भने यही भइरहेको छ। बीपीको सपना शब्दमा जे भनिए पनि जनताका आधारभूत आवश्यकता मौलिक अधिकारका रूपमा सुनिश्चित हुनुपर्छ भन्ने हो। कांग्रेसभित्र वाममार्गमा हिँडिरहेका आचार्य र तामाङ बीपीको यही सपनालाई जिउँदो राख्न चाहन्छन्। महाधिवेशनमा यी दुईले पाएको झिनो मत देख्दा कांग्रेसमा बीपीको सपना अम्बर गुरुङको एउटा विरही पंक्ति गाउन बाध्य भएझैँ लाग्छ -
लहरले भन्थ्यो बगेर एक दिन सागर पुग्छु,
कुन दिनले हजुर खोलामै म सुकेँ।

No comments:

Post a Comment