सरोजदिलु विश्वकर्मा
कार्ल्स मार्क्स र फेडरिक एंगेलसले स्थापित गरेको कम्युन र हेगेल्स्ले प्रतिपादन गरेका द्वन्द्ववाद र फायरवाखले जन्माएको भौतिकवाद अत्यन्तै सुन्दर वैज्ञानिक दर्शन र श्रमजीविहरुको चीरकालीन हतियार हुन् । त्यसैको धरातलमा टेकेर ठूलाठूला र विश्वस्तरीय समाजशास्त्र बनेका छन् । जसले उत्पीडित र्सवहारा जनलाई हार्ने आधार दिएको छैन भने जित्नका लागि संसार दिएको छ । जसले धनी गरिववीचमा द्वन्द्व मात्र होईन, सामन्जस्यता पनि सिर्जना गर्दछ । जसले जातीय विभेदलाई नर्कादै विविधता र संस्कृतिको पनि रक्षा गर्दछ । यसैले कम्युन दर्शन महान र अजर छ भन्ने कुरालाई नकार्न सकिदैंन । तर, आफूलाई कम्युनिष्ट भन्नेहरुले स्वयंम्लाई ब्यवहारिक कम्युनिष्ट नबनाउँदा र तिनको वैयक्तिक आचरणले विश्व परिदृश्यबाट कम्युन व्यवस्था लोप हुनसक्ने खतरा रहेको छ ।
नेपालमा कम्युन ब्यवस्थाको कुरा गरेको ६० वर्ष नाघिसकेछ । यसवीचमा हामीले धेरैपल्ट वैठक बस्यौ, मुक्तिका गफ चुट्यौं, कम्युनहरुको संगठन बनायौं, पुनगर्ठन मात्रै गर्यौं । नेता, उपनेता, सहनेता, अध्यक्ष र महासचिव मात्र बन्यौ तर वास्तविक राजनेता बन्नैसकेनौ । जसको नाममा हामीले राजनीति गर्यौं, ती श्रमजीवी जनतालाई केही दिनसकेनौं । हामीले मार्क्सवाद, लेनिनवाद र माओवादका मोटामोटा पुस्तक लेख्यौं, कार्यकर्ता भेट्यो कि ती शास्त्रहरु पढाउन शुरु गरिहाल्यौं, तर ती दर्शनहरुलाई ब्यवहारमा कहिल्यै प्रयोग गर्नैसकेनौ । हाम्रा हजुरबा जिजुबाहरुले थालनी गरेको अभियान हामीसम्म आइपुग्दा सारमा परिवर्तन भएपनि रुपमा उस्तैउस्तै ।
कम्युनिष्टका अद्वैताहरुले भने, हामी धनिगरिव मान्दैनौ, किसान, मजदुरहरु श्रमजीविहरुको शासनसत्ता स्थापना गर्न चाहन्छौं । तिनले भनेथे, हामी संसारमा महिला र पुरुष भन्ने दुइ जातिमात्र भएको देख्न चाहन्छौ । जहाँ पुरुषले धर्तिलाई बोक्नेछ, महिलाले आकाशलाई थेग्नेछ । आजका हामी कम्युनिष्टहरु फेरिपनि वर्ग उन्मुलनकै कुरा गर्दैछौं, सांस्कृतिक रुपान्तरणकै गीत गाउँदैछौं । जातीय मुक्तिका ढोल धेरै बजाइसक्यौं तर गैरदलित बस्तीमा दलित कार्यकर्तालाई "एकक्षण है" भन्दै बाहिर राखेर भित्र पसी भात गोद्यौ । हामी आज पनि कुलघराना, गोत्र अनुसारका नाता-कुटुम्व रोज्दैछौं, राणा र पञ्चायतका अवशेषकारुपमा अमेरिका युरोपमा लुकेका अर्थात त्यो स्टाण्डर्डका ज्वाई र बुहारी खोज्दैछौं । समाजले स्वीकार्दैन रे, हजुरवाले पिण्ड पाउदैनन् रे, हजुरआमा स्वर्ग जान्नन् रे, कुन कुल खान्दानीको रे, हामी जनै चन्दन लगाएर यस्तैयस्तै भजन गाउँदैछौं । हामीले साम्राज्यवादको धुरन्धार विरोध गर्यौं, सामन्तवादलाई मुर्दावाद भन्यौं तर खोजीखोजी तिनै सामन्त र वुर्जुवासँगको वरवधुको सांस्कृतिक सम्वन्धलाई नै रोज्यौं । यो आचरणका नेता, कार्यकर्ताले न हामी समाजवाद स्थापना गर्नसक्छौं न त साम्यवादमा पुग्न । वरु वर्तमान राज्यब्यवस्थालाई समेत विघठन गरी असफल राष्ट्रमा दरिन सक्छौं ।
वाहुनिष्ट संस्कार नै हाम्रा लागि घातक छ । जवकि यस्ता वाहुनिष्टहरुमा मार्क्स र माओले भनेजस्तो आर्थिक, सामाजिक र सांस्कृतिक सम्वृद्धिको आचरण नै छैन भनेपनि हुन्छ । भएकाहरुलाई समेत दृष्टिकोण नभएकाहरुले चौघेरामा पारेर बढ्नै दिएनौँ । हामीमा समूहको लागिभन्दा वैयक्तिक स्वार्थ अहम् हुन्छ, पद्को अत्याधिक लोभ हुन्छ । राष्ट्रको लागि वलिदानी दिनेभन्दा एउटा झुण्डमा बसेर खानैका लागि मर्ने लालसा हुन्छ, हामी असुरवंशीका वाहुनिष्टहरुमा । न अरुसँग मिल्नसक्छौं न अरुलाई मिलाउन । वरु एउटा एउटा कुनामा बसेर आआफ्ना विचार र आदर्शका खातापाता लिएर नेपाली जनतामाथि जजमानी गरिरहेका छौं, चाहे हामी माओवादी हौं या माले, एमाले वा जनमोर्चा वा नेमकिपा । चाहे सत्तामा बसेका कम्युनिष्ट हौं या सत्ता बाहिर बसेर खुट्टा तान्दै गरेका, राताराता मालामाल भएर अर्को उच्च बर्ग हुने धन्दा चलाउँदैछौं । सत्ता, विलासिता, पैसा र हुकुम गर्ने, अनि हुकुम वमोजिम अन्यले मानिदिनु पर्ने नयाँ जाति खडा गर्दैछौं । यस कारणले यो नयाँ जाति र परिवर्तन खोजिरहेका पुराना जाति अनि यो नयाँ वर्ग र मुक्ति चाहने पुराना वर्गवीचमा गहिरो दरार पर्दैछ । त्यसैले पहिले आफैंलाई हेरौं, हामी जातका कम्युनिष्ट कि व्यवहारका वाहुनिष्ट !
हामी कम्युनिष्टहरुले वर्ग समानताका कुरा उठायौ तर तल्ला वर्गलाई पुलिस र सेनाको त्रास, श्रमको भार, महँगीको कहिल्यै नीको नहुने रोग दियौं । यसको ठीक विपरित, निरन्तर झण्डा बोक्ने र डण्डा खाने कार्यकर्तालाई आजको छाक कसरी टार्यौ ? भनेर कहिल्यै सोधेनौ, वरु "राजनीति" शब्द सुन्दै झ्याऊ लाग्ने, नेकपाको पूरा स्वरुप नजान्ने आआफ्ना भाइभतिजा, नातागोता, नोकरचाकर हुक्के, चिलिमेहरुलाई अवसरहरु दिदैं आयौं । कार्यकर्तालाई पुँजीवाद होईन है, समाजवाद र साम्यवाद भन्ने तर स्वयंम् चाँहि सामन्ती पुँजीवादको भकारी कहाँ फेलापर्छ भनेर चाहर्दै हिड्नेहरु हामीले सहिदका नाममा हजारौ मिनेट मौनधारण गरिसक्यौं, जनआन्दोलनका घाइतेप्रति लाखौंपल्ट शीरनतको नाटक रच्यौं तर बाटोमा लम्पसार परेर मागिरहेका ती घाइतेलाई देख्दा मुन्टो लुकाएर कुलेलाम् ठोक्यौं भने के हामी कम्युनिष्ट हौं त ? हो, हामी वातमारा र भातमारा कम्युनिष्ट भयौं तर जात र व्यवहारका भएनौ ।
गोञ्जालोले पेरुभेली जनतालाई कम्युनिष्ट भन्नासाथ थुकिनुपर्ने स्थितीसम्म पुर्याए । गोर्भाचोभले रुसी जनतालाई राष्ट्रको विखण्डन गर्नुपर्छ भन्ने मनस्थितिसम्म पुर्याए । पोलपोट्ले कम्युनिष्टहरु हिंस्रक मात्र हुन्छन् भन्ने गराए । आज नेपाली जनताहरु पनि कम्युनिष्टदेखि आजिद हुनथालेका छन् । किन कि जुन सपना र र्समर्पण बोकेर नेपाली जनताहरु कम्युनवादमा समाहित भए, तिनका सदिच्छाहरु कुनै पूरा हुन सकेनन् । वरु बात र भातका पुरेत्याइं गर्ने केही नेताहरु आर्थिक रुपमा मालामाल, सामाजिकरुपमा सुरक्षित र राजनीतिक रुपमा चीरस्थायी बने । तिनले अन्ततः यही नै मुक्ति हो भन्ने भ्रमसमेत श्रृजना गरिरहेका छन् । यसलेगर्दा सर्वहारा जनताहरुले अव हामी कम्युनिष्ट नेता-कार्यकर्ताको गन्ध पाउनासाथ छेऊ लाग्नुपर्ने स्थिति आउन थालेको छ । यर्सथ, नेपालको पर्रि्रेक्षमा मार्क्सवादी लेनीनवादी वा माओवादी सिद्धान्तहरु बाहुनिष्टहरुको नयाँ धोती र टोपी फेर्ने हरिओम् तस्तत झैं एउटा पानीमन्तरमा रुपान्तरण हुँदैछ ।
नेपालका कम्युनिष्टहरु एकएक विचारका भट्टिमा बसेर बोकाको टाउको देखाँउदै ब्वाँसोको मासु बेचिरहेका छन् । परिणामतः ६२ प्रतिशत कम्युनिष्टहरु यो मुलुकमा रहेता पनि श्रमजीवीहरुले न्याय पाउँदैनन् । न्याय माग्न जाँदा जावो एउटा लिखुरे पुलिसले सातो लिन्छ । बाटो हिड्ने निर्दोष भरियाको थाप्लामा धीनले झ्यालबाट थुकेको थुक परिरहेको छ । हामीभित्रै मन परेका र माया गरेकासंग जुनी काट्न जातीय र वर्गीय दरार कायम राखिएको छ । अनि केको वर्ग समानता ? के सार्वभौम ?- केको आत्मसम्मान ?
हो, मार्क्सवाद, लेनिनवाद र माओवाद भनेको कक्षा टप्ने शैक्षिक कोर्स थिएन, व्यवहारिक प्रयोग गर्दै, श्रमजीवि जनतालाई साम्यवादको गन्तब्यमा पुर्याउने अचुक मन्त्र थियो, जसलाई व्यवहारमा नै प्रयोग गर्नुपर्दछ । तसर्थ कम्युन व्यवस्था संसारकै सुन्दर पद्धति हो । नेपालको सन्दर्भमा समेत कम्युन ब्यवस्था नै हावापानी सुहाउँदो ब्यवस्था हो । तर विडम्वना वाँदरको हातमा नरिवल ! नयाँ समयको खोजीमा संघर्षरत हामी कम्युनिष्टहरु विश्वमा भएका परिवर्तनका द्योतक बन्नै सकेनौ । जव कि हरेक कम्युनिष्टहरुमा बाहुनिष्ट सामन्तवादको कीला गाडिएको छ, जातिवादी उच्चताको टुप्पी ठडिएकै छ । जसले आफ्ना भाषणमा विश्व हल्लाउने आदर्शका कुरा खोकेता पनि ब्यवहारमा उसले आफैंलाई परिवर्तन गरेको छैन । आफूले बोले मात्रै संसार पुण्य हुन्छ भन्ने मानसिकता राख्ने तर आफू डेग नचल्ने भएपछि कुनै परिवर्तनको कल्पना गर्न सकिन्न । अर्थात यो मुलुकमा हामीजस्ता आचरण भएका जनै र टुप्पीवादी वाहुनिष्टहरु रहेसम्म रुपान्तरणको कुनै सम्भावना देखिन्न । फलतः संसार बदल्ने समय ल्याउँछौं भन्ने हामीहरु आज मुलुकको प्रधानमन्त्री चुन्न नसकेर समयलाई बर्वाद गरिरहेका छौं ।
No comments:
Post a Comment