नेपाल स्पेन समाचार तपाई हरुको हार्दिक स्वागत गर्दै निस्पल्क्ष सत्य र राजनैतिक तथा सामाजिक समाचार लाई प्राथमिकता दिदै समाचार को अपेक्षा गर्दछ

गृह - बिचार तथा बिस्लेशण - शुभ कामना- साहित्य- प्रवासी समाचार- ब्यक्ती / ब्यक्तित्व- मोडेल - धर्म- ड्राईभिङ - भाषा परिवर्तन - फन्ट डाउन्लोड -नेपाली टाईप - हाम्रो बारेमा

Friday, September 2, 2011

शान्ति र संविधानको अग्निपरीक्षा > विजयकुमार

संविधानसभामा 'भोटिङ' सकिँदा नसकिँदै जुन रफ्तारमा बाबुराम भट्टराईका निम्ति 'मुस्ताङ' गाडी तयार भएर आयो, त्यसबाट सहजै अनुमान लगाउन सकिन्छ, आफू प्रधानमन्त्री हुने कुरामा डाक्टर साब कति धेरै विश्वस्त थिए । बाबुराम भट्टराईको प्रधानमन्त्री पदमा आगमनले नेपाली राजनीतिको एक चरण समाप्त भएको छ । प्रचण्डको प्रधानमन्त्री पदबाट राजीनामा र त्यसपछि नयाँबानेश्वरमा उनले उफ्री-उफ्री दिएको भाषणपछि नेपाली राजनीति जुन अध्यायमा प्रवेश गरेका थियो, त्यो चरण जयन्त प्रसादको भारतीय राजदूतका रूपमा नेपाल आगमनका साथै स्थगन हुने संयोग परेको छ । राकेश सूद अब आरामसँग पेरिसमा फ्रेन्च वाइनको आनन्द लिइरहेका बेला उनका परम मित्र पुष्पकमल दाहल अब आफ्नो प्रचण्ड रूप परिवर्तन गर्ने स्थानमा आएका छन्, ल्याइपुर्‍याइएका छन् । उनको रूप परिवर्तनको यो क्रममा, अब कामरेड मोहन वैद्यले लगातार 'नोट अफ डिसेन्ट' लेख्ने कामका लागि नयाँ वहिखाता खोलेका छन् । यो वहिखाताले नेपाली सञ्चार माध्यमहरूलाई अब आउने केही समय खुराक दिने छ ।
हामीजस्ता सामान्य विश्लेषकको बुद्धि र विश्लेषणको सीमाबाहिर रहेर विकास भएको माओवादी पार्टी, वर्तमान समयमा, नेपालको सबैभन्दा ठूलो दल त हुँदै हो, अब यसले पनि दक्षिण एसियाको राजनीतिक परिवेशको हावापानीअनुसार चल्ने संकेत प्राप्त हुन थालेका छन् । एक प्रकारले भन्ने हो भने वर्तमान घटनाक्रम शान्तिपूर्वक दुई छाक 'गरी खान पाउँ' भन्ने चाहना राख्ने अधिकांश नेपाली जनताका निम्ति शुभसंकेत पनि हो । यो परिस्थितिको निर्माण गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहालको ठूलो योगदान छ । बुझेर पनि बुझ पचाउने नेता होइनन् दाहाल । केही समय अगाडि उनले चुनिएका केही पत्रकारलाई घर बोलाएर 'विगतमा आफूले गरेका' गल्तीहरूको लिस्ट सुनाएका थिए । प्रचण्डले बुझिसके- माओवादीको मालगाडी अब उधारो आश्वासनको तेल हालेर धेरै दिन चल्न सक्दैन ।

मलाई लाग्छ, धेरै टाढा नपुर्‍याइए पनि, अब शान्ति प्रक्रियाका गाडीलाई एक स्टेसन परसम्म धकेलिने छ । शान्ति प्रक्रियाको यो गाडी रोकेर फाइदा हुने दिन सकिएका छन् । कांग्रसले पनि माओवादी सेना समायोजनको संख्याबारे सानोतिनो झिंगे अत्तो थापेर बखेडा गर्नुको औचित्य छैन । पुनःस्थापन हुन चाहने लडाकुहरूलाई दिइने उचित प्याकेज रकममा पनि कसैले मन सानो पार्न पर्ने कारण छैन । माओवादीलाई गिरिजाप्रसाद कोइरालाले 'शान्ति सम्झौता' मा ल्याएका थिए, न कि कुनै आत्मसमर्पणको टेबुलमा । अर्कोतिर, माओवादीको आफ्नो 'बुझाइ' सम्बन्धी समस्या कहाँबाट सुरु भयो भने- उसले जनआन्दोलन-२ पछि काठमाडौं आउँदा आफूले सारा संसारलाई नै हराएर आएको भ्रम पाल्न थाल्यो । हुँदाहुँदा दक्षिण एसियाको सामरिक नक्सा नै बदल्ने 'सोम शर्माको सातु' सपना देख्न थाल्यो । त्यो देखेर 'दुःखका बेला' माओवादी नेतृत्वलाई 'नोयडा' मा डेरा दिने 'घरबेटी' क्रोधित हुनु स्वाभाविकै थियो । तर आजको दिनसम्म आइपुग्दा त्यो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिमा 'केही' बदलाव आएको छ । दुवै पक्षको मनमा जमेको मैलो पूरै सफा नभएता पनि केही हदसम्म पखालिएको भने अवश्य छ ।

आदरणीय पाठकहरूले भन्नु होला, 'नयाँ प्रधानमन्त्री आएको साइतमा के बेकारका पुराना कुरा गरिरहेको होला ?' कुरा त एकछिन पछि म पनि नयाँ नै गर्नेछु, तर बिर्सन नहुने तथ्य के हो भने- अघि उठाइएका प्रसंग पुराना भएता पनि बासीचाहिँ अवश्य भएका छैनन् । ताजा नै छन् र समाधान नगरेसम्म ताजै रहने छन्, प्रधानमन्त्री चाहे जति आऊन् र जाऊन् ।

अहिलेको अवस्थामा समस्या समाधानको अर्थ हो- तीन महिना होइन, दुई महिनाभित्र सरकारले शान्ति प्रक्रियामा ठोस 'नगदी' काम गरेर देखाउने । होइन भने जुन रफ्तारमा मधेसी मोर्चा माओवादी नेतृत्वको सरकारमा आउन सहमत भएको छ, त्योभन्दा धेरै छिटो वर्तमान गठबन्धनबाट गायब हुने छ । एक वाक्यमा भन्ने हो भने यो सरकारको आयु यसले शान्ति प्रक्रियाका सम्बन्धमा गर्ने नगदी कार्यमाथि निर्भर रहने छ । के बाबुरामको सरकारले त्यसो गर्न सक्ला ? यसको सरल उत्तर छ- गर्न सक्नुपर्छ । यो सरकार पनि असफल भयो भने १२ बुँदे समझदारीको आधारमा निर्माण भएको वर्तमान राजनीतिक संरचना जरैदेखि भत्कने छ ।

यो तथ्यप्रति सबैभन्दा धेरै चिन्ता कामरेड प्रचण्डलाई छ । किनभने १२ बुँदे समझदारीयताका घटनाक्रममा सबैभन्दा धेरै लाभ उहाँकै पार्टीलाई भएको छ । मैले यसो भन्दा माओवादी पार्टी उक्त लाभको हकदार थिएन भन्ने अर्थ कदापि नलागोस् । निश्चित रूपले पहिलो पटक भएको चुनावमा सबैभन्दा बढी भोट ल्याउने पार्टी त्यही हो । र, प्रत्यक्ष निर्वाचनद्वारा प्रमुख कार्यकारीको निर्वाचन हुने प्रावधान नयाँ संविधानमा आएको खण्डमा माओवादी नेतृत्वलाई पराजित गर्न अरू पार्टीका 'साविकबमोजिम' नेताहरूलाई फलामे चिउरा चपाउनुसरह हुनेछ । यस्तो सुखद सम्भाव्य भविष्य त्यस बखतमात्र यथार्थ बन्ने छ, जब शान्ति प्रक्रिया टुंगिएर नयाँ संविधानको निर्माण हुने छ । शान्ति प्रक्रिया र संविधान निर्माण गर्न अहिलेजस्तो अनुकूल समय पहिला कहिले थिएन । १२ बुँदे समझदारीका दुई देखिने र एक नदेखिने तर बुझिने पक्षले विगतमा गरेका गल्तीबाट पाठ सिक्दै अगाडि बढे शान्ति प्रक्रिया र संविधान निर्माण एउटा निश्चित विन्दुमा पुग्ने छन् । तर त्यो काम एउटा निश्चित समयसीमाभित्र एउटा निर्धारित विन्दुमा पुगेन भने सबैभन्दा बढी घाटा माओवादी पार्टीलाई नै हुनेछ, किनभने समाजलाई यहाँसम्म ल्याइपुर्‍याउन सबैभन्दा बढी दुःख र सुख पनि त्यही पार्टीले बेहोरेको छ ।

प्रचण्डले पछिल्लोपटक माओवादी सरकारको नेतृत्व गर्दाको अवस्थालाई आजको अवस्थासँग तुलना गर्ने हो भने बागमतीमा धेरै पानी बगिसकेको छ । प्रधानमन्त्री पदबाट प्रचण्डको निर्गमपछि आफ्ना हरेकजस्तो सभामा माओवादीद्वारा कालो झन्डा देखाइने गरिएका विजयकुमार गच्छदारलाई रातो कार्पेट ओछ्याएर माओवादी नेतृत्वको मन्त्रिमण्डलमा सादर दण्डवत गरी समावेश गरिएको छ । बताइन्छ कि माओवादी र मधेसवादी दुई परिवर्तनकामी शक्ति हुन् । अब हेरौं यी 'परिवर्तनकामी' हरू 'परिवर्तनकारी' बन्न सक्छन् कि सक्दैनन् ? परिवर्तनकामी हुनु र परिवर्तनकारी हुनु धर्ती आसमान जत्तिकै नितान्त फरक कुरा हुन् । नयाँ नेपाल 'परिवर्तनकामी' नेताहरूले भरिएको छ, नकि परिवर्तनकारी नेताहरूले । परिवर्तनको 'कामना' जसले पनि गर्न सक्छ तर परिवर्तन 'गरेर' देखाउन सक्ने पुरुषार्थ, परिस्थिति र भाग्यको त्रिवेणी थोरैलाई मात्र उपलब्ध हुन्छ ।

बजारमा बाबुरामजीका कुशल मिडिया म्यानेजरहरूले झ्याली पिटाएका छन्- डाक्टरसाब सिंहदरबारमा पस्नु भयो अब नयाँ नेपाल गजब नेपाल हुन्छ । डाक्टर साबले मुस्ताङ गाडी चढ्नुभयो, अब नेपाली अर्थ व्यवस्थाले सगरमाथाको चुचुरो चढ्नेछ । सर्वहारालाई पनि राहत मिल्छ, धनीमानीलाई पनि राहत मिल्छ । बुद्धिजीवीको त कुरै छाडौं डाक्टर साब आफैं बुद्धिजीवी । पत्रिका र टेलिभिजनमा कथित जनसर्वेक्षण देखाइएका छन्, जहाँ ८५ प्रतिशत मत डाक्टरसाबका पक्षमा छन् । -म आजै यसै स्तम्भद्वारा विभिन्न सञ्चार माध्यममा दैनिक गरिने सर्वेक्षणहरूको एक अत्यन्त गलत र अवैधानिक पक्षप्रति सम्पूर्ण जनताको ध्यानाकर्षण गराउन चाहन्छु । मैले देखेअनुसार नेपाली टाइम्सको एउटा अपवादबाहेक अरू कसैले कथित 'जनताको आवाज' सर्वेक्षणमा कति जनाले भोट हाले अर्थात् सर्वेको 'स्याम्पल साइज' कत्रो थियो भन्ने कुरा जनतालाई कहिले बताइँदैन । नेपाल टेलिकमको एक अधिकृतले मलाई बताएअनुसार कतिपय अवस्थामा दस जनाले पनि भोट नहालेको कुरालाई टेलिभिजन च्यानलहरूले 'यही हो आजको जनमत' भनेर प्रसारण गरिरहेका छन् ।) यो कुरा मैले डाक्टर भट्टराई अरू कसैभन्दा कम लोकपि्रय छन् भन्ने अर्थमा लेखेको होइन । निश्चय पनि देशले एक सुयोग्य मानिसलाई, सम्भवतः सबैभन्दा योग्यलाई प्रधानमन्त्रीको रूपमा पाएको छ ।

आज मेरा पुराना मित्र डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुनुभएकोमा म जति खुसी छु, त्यतिकै चिसो मेरो मनमा पसेको छ, उहाँलाई देवत्वकरण गराउने प्रयास देखेर । कसैलाई यति धेरै देवत्वकरण पनि नगरौं ताकि त्यो खस्ने बेलामा पृथ्वीमा समेत नरोकिएर सीधै पाताल प्रवेश गरोस् । मानिसलाई कि राक्षस बनाउने कि देवता तुल्याउने नेपाली समाजको पुरानै रोग हो । हाम्रो प्रेसमा पनि त्यो रोगको छाया बेलाबखतमा प्रस्टै देखिन्छ । अलि अलि देवः र अलि अलि दानव मिलेर बनेको छ- मानव । यसलाई मानवकै रूपमा राखे पछिसम्म सजिलो हुन्छ ।

नेपालमा गर्नै नसकिने होइन । गर्न सकिन्छ, धेरै क्षेत्रमा सुधार गर्न सकिन्छ तर एउटा सीमाभित्र मात्र । नेपालको विडम्बना के छ भने यहाँ योग्यहरू साहसी छैनन् र साहसीहरू योग्य छैनन् । योग्यता र साहसको मिश्रणले मात्र आजको उपभोगतावादी संसारमा 'नतिजा' दिन सक्छ । त्यो मिश्रणले मात्र एक परिवर्तनकारी समाज (परिवर्तनकामी मात्र होइन ­नि !) सिर्जना हुनसक्छ । डाक्टर भट्टराईको योग्यतामा शंका गर्ने मूर्खता म गर्न चाहन्न, अब बाँकी रह्यो, साहसको कुरा, त्यो डाक्टर साबले आफैं महसुस गर्ने वा नगर्ने विषय हो । प्रचण्डजी वर्तमान अवस्थामा प्रधानमन्त्री नहुने व्यावहारिक परिस्थितिको सन्दर्भमा बाबुराम भट्टराई नै माओवादीका तर्फबाट प्रधानमन्त्री पदका स्वाभाविक दावेदार हुनसक्थे र भए । साँच्चै भन्ने हो भने नेकपा माओवादीको जनसेना र नेतागण जसरी क्रमशः जंगलबाट र 'नोयडा' बाट यहाँसम्म आइपुगेका छन्, त्यो सफलताका निम्ति बाबुरामजीको नीतिलाई जस दिन कसैले पनि कन्जुस्याइँ गर्नु हँुदैन । एक हिसाबले भन्ने हो भने, अहिलेको माओवादी सरकारमा 'जसको नीति उसकै नेतृत्व' स्थापित भएको छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री पदमा निर्वाचित हुनुका निम्ति अरू कुराहरूका अलावा पार्टी अध्यक्ष दाहालको उदारता पनि जिम्मेवार छ । हुन त, हल्लाको बजारमा एकथरी शंका व्यक्त गर्दैछन्- प्रचण्डले बाबुरामलाई कत्तिको सहयोग गर्लान् ? शंका गर्नेहरूले नबुझेको गुह्य कुरा के हो भने- बाबुराम, एकैरातमा प्रधानमन्त्री बनेका होइनन् । प्रचण्डजीले यो शुभ कामका निम्ति देश-विदेशमा विगत केही समयदेखि यथेष्ट गृहकार्य पूरा गरिसक्नुभएको थियो । चारै दिशामा गरिएका गृहकार्यपछि मात्र कमरेड प्रचण्ड यो आँकलनमा पुग्नुभएको थियो कि यसपटक माओवादीबाट कुनै मानिस प्रधानमन्त्री हुन सक्छन् भने त्यो बाबुराम भट्टराईमात्र हुन् । एउटा कम्युनिस्ट पार्टीमा, प्रधानमन्त्री बन्न इच्छुक, 'फस्टम्यान' छँदाछँदै 'सेकेन्डम्यान' ले त्यो अवसर पाएको यो घटना साधारण परिवेशमा घटेको हो भनेर पत्याउने मूर्खता म गर्न चाहन्न । अतः प्रचण्डजीले बाबुरामजीलाई धेरै शंकालुहरूले सोचेभन्दा बढ्ता सहयोग गर्ने छन् भन्ने मेरो आँकलन छ । किनभने अब पनि, १२ बुँदे समझदारीका आधारमा निर्माण भएको, वर्तमान राजनीतिक परिदृश्यको इमानदारीपूर्वक पालन नहुने हो भने अहिलेसम्मको साराका सारा खेल 'रिप्ले' हुने खतरा वास्तविकता बन्न छ महिना पनि लाग्ने छैन । त्यो दुर्घटना रोक्ने हो भने नयाँ सरकारलाई २ महिना उसकै हिसाबले काम गर्न दिऊँ । सके सहयोग गरौं, नसके नयाँ बबाल नथपौं । त्यो अवधिपछि पनि राम्रो लक्षण नदेखिए विकल्पको खोजी स्वाभाविक हुनेछ ।

vijaypanday@hotmail.com

No comments:

Post a Comment