नेपाल स्पेन समाचार तपाई हरुको हार्दिक स्वागत गर्दै निस्पल्क्ष सत्य र राजनैतिक तथा सामाजिक समाचार लाई प्राथमिकता दिदै समाचार को अपेक्षा गर्दछ

गृह - बिचार तथा बिस्लेशण - शुभ कामना- साहित्य- प्रवासी समाचार- ब्यक्ती / ब्यक्तित्व- मोडेल - धर्म- ड्राईभिङ - भाषा परिवर्तन - फन्ट डाउन्लोड -नेपाली टाईप - हाम्रो बारेमा

Sunday, July 17, 2011

देशको कथा > किशोर नेपाल

भविष्यका लागि आशा र उमंगको रेखा कोर्न उत्साहका साथ लागिरहेका पूर्वाञ्चलका सुन्दरीहरू सफलताको अन्तिम खुड्किलो उक्लिँदैछन्। सामाजिक बाधा, बन्धन र अपवादलाई पन्छाएर दुनियाँ जित्न हिँडेका यी सुन्दरी नयाँ नेपालका प्रतिनिधि पात्र हुन्। शनिबार साँझ उनीहरूमध्ये कुनै एकको शिरमा पूर्वाञ्चल सुन्दरीको ताज झल्किनेछ। झन्डै महिना दिनको तालीम र एकाग्रतापछि उनीहरूबीचकै कुनै सुन्दरी आफनो सफलताको स्कुटी चढेर रमाउनेछिन्। जीवन स्वस्थ्य प्रतियोगिता हो प्रगतिको।

यस्तो प्रतियोगिताले मानिसको विकासमा मद्दतमा पुर्‍याउँछ। जीवन उत्सव हो आशा र उत्साहको। यही आशा र उत्साहले समाजलाई गतिशील बनाउँछ। तन्नेरीहरूको ससाना गतिविधिले पनि समाजमा नयाँ नयाँ आशा र उत्साह जगाइरहेको हुन्छ। तर पनि, अहिलेको नेपाली समाज आशा र उत्साहमा चुर्लुम्म डुब्नपाएको छैन। उसको टाउकोमा राजनीतिको बोझ छ। त्यसैले थिचेको छ उसलाई। एक पटकमात्रै राजनीति सुध्रिएदेखि, अबको पटक भावी गन्तव्यको टुंगो लागि दिएदेखि राजनीति आफ्नो तालमा उफ्रिँदै गर्थ्यो, मानिस आफ्नो गतिमा हिँड्दैगर्थ्यो।

तर, त्यस्तो सम्भावना शून्य देखिन्छ। 'न दीया, न सबेरा' भनेझैँ राजनीतिको न आगमन देखिन्छ, न निर्गम। शिशिर यामको प्रत्येक रात जाडोले कठ्यांग्रिएपछि भोलि बिहानको घाममा त पक्कै घर बनाउँछु भन्ने छेपाराले जस्तै नेपाली राजनीतिका नायक र खलनायकहरू संविधान बनाउने दृढता व्यक्त गर्छन्। तर, एकपटकको संकट टरेपछि त्यसलाई बिर्सिन्छन् र आपसी विवादमा रमाउँछन्।

देशको एजेन्डा ओझेलमा परेको छ। त्यसका ठाउँमा दलको र त्यसभन्दापनि दलका प्रत्येक नेताको व्यक्तिगत एजेन्डा स्थापित भएको छ। इतिहास चक्रमा समय पछाडि सर्किएको छ। विसं २०४६ सालको जनआन्दोलनले विस्थापित गरेको राजा महेन्द्रको निर्दलीय व्यवस्थामा जस्तै प्रत्येक व्यक्ति आफैँमा एउटा दल बनेको छ। उसको आफ्नै घोषणापत्र छ, आफ्नै पार्टी कार्यालय छ र आफ्नै कार्यकर्ता छन्। कहिलेकहीं लाग्छ, नेपाली नेता अति नै गुणवान छन्। संसारका कुनैपनि समकालीन नेताले नेपाली नेताको कल्पनाशीलतालाई मात दिन सक्दैनन्। नेपालले आफनो उन्नतिका लागि विश्वको वुध्दि बजारमा यिनै कल्पनाशील नेताको दिमागको केही अंशमात्र निर्यात गरे पनि पुग्छ।

नेताहरूले प्रतिबध्दता व्यक्त गरेजस्तो भदौ १४ गते नयाँ नेपालको नयाँ संविधानको मस्यौदा आउँदैन भन्ने अब स्पष्ट भइसकेको छ। किनभने, संविधान सभा त्यतातिर केन्द्रित नै हुनसकेको छैन। अबको डेढ महिनामा संविधान सभाको ध्यान संविधानमा केन्द्रित हुने कुनै सम्भावना पनि देखिँदैैन। संविधानका लागि सम्झौता र सहमतिमा आउनुपर्ने दुई ठूला दल आफ्नो आकार खुम्च्याउने अभियानमा लागि परेका छन्। पछिल्लो चरणको नेपाली राजनीतिक इतिहासमा सबैभन्दा एकताबध्द र बलियो भनिएको एनेकपा (माओवादी)का लागि आफ्नो आकार नै भारी बनेको छ। अर्को ऐतिहासिक र ठूलो दल कांग्रेसभित्र आन्तरिक महासमरको तयारी भइरहेकोछ। दुवै दलका नेताहरूमा आफूलाई सबैभन्दा ठूलो र प्रभावशाली साबित गर्ने होड चलिरहेको बेला संविधान निर्माणका लागि बिनालगामका घोडाहरू दौड लगाइरहेकाछन। बिनालगामका घोडा कहीँ पनि र कहिल्यै पनि यात्राको अन्तिम टुंगोमा पुग्न सकेका छैनन्। नेपाली राजनीतिको विडम्बना नै हो यो।

तै पनि, देशको शासन चलिरहेको छ। अर्थमन्त्रीको बजेट भाषणमा अवरोध आएपनि अर्थतन्त्र चलिरहेको छ। केही मानिसले चलनचल्तीअनुसार अर्थतन्त्रका बारे चिन्ता व्यक्त गरिरहेका हुन्छन्। त्यसभन्दा बढी गर्न सकिने अरू केही पनि छैन। आर्थिक अपराध गरेको अभियोगमा हाँगाबिँगा छिमलिँदैछन्। हाँगा टिकाउने जरामा कसैको ध्यान गएको छैन। निर्णय प्रक्रियाका मूल पात्रहरू स्वच्छ मानिएका छन् र स्वतन्त्र छन्। निर्णय कार्यान्वयनमा पुर्‍याउनेहरूमात्र थुनामा जाकिएका छन्। एकदुई ठाउँमा राम्रो देखिएको प्रशासनलाई नमुनाका रूपमा प्रदर्शित गरेर सरकार सुदृढ शासनको गुड्डी हाँक्छ। लाज कसैलाई छैन। नेताहरू आफूलाई योग्य देखाउन व्यस्त छन् भने प्रशासकहरू आफैँलाई सक्षम देखाउन कटिबध्द छन।

एकथरी छन्, जो अशान्ति र भ्रष्टाचारका कुरा उठाउनेले संविधानको बाटोमा अवरोध खडा गरेको हल्ला गर्दैछन्। संचारकर्मीहरू, सदाझैं, यिनका आँखाका कसिंगर बनेका छन्। देशमा हुनुपर्ने कुरा भइ नै राखेका छन् - गाउँ र जिल्लाका शासन सर्वदलीय हिसाबले चली नै रहेका छन्। रातो किताबमा उल्लेख भएर स्थानीय तहमा पुर्‍याइएको विकासको रकम समानुपातिक ढंगले बाँडिएकैछ। मानिस पनि त्यति मारिएका छैनन्, पृथ्वीनारायण शाहको समयमा जस्तो तीस लाख नेपालीको नेपाल होइन यो जुन जमानामा वर्षमा तीनजना पनि मुश्किलले मारिन्थे। तीनसय लाखभन्दा बढी संख्या भइसकेको छ नेपालीको। त्यसमा वर्षको तीन चार सय मर्छन् भने आँकडाका हिसाबले त्यसलाई स्वाभाविक मान्नुपर्छ। देश आँकडाकै भरमा त असफल हुनबाट जोगिएको छ।

एकताका नेपालमा नागरिक समाज थियो। देशभर यसको सञ्जाल थियो। अधिकारका लागि अनसनमा बसेका हुन्थे दिग्गजहरू। देशको चिन्ताले, जनताको चिन्ताले, अधिकारको चिन्ताले कठिनतम अवस्थामा पनि उनीहरु सक्रिय रहन्थे। जेल जान्थे। जुलु गर्थे। अहिले त्यो अभियान ठ्याम्मै रोकिएको छ। नागरिक समाज विभिन्न समाज र सिद्धान्तमा बाँडिएको छ। नेताहरूको बैठकमा पुगेर चिया खानेसम्मको फुर्सद पनि छैन कसैलाई। सबैका आआफ्नै धन्दा छन्। नागरिक समाज नयाँनयाँ स्कुल र नयाँनयाँ अस्पतालमा रमाएको छ। भर्सेलामै परोस् नागरिक अधिकार। भर्सेलामा परोस् राजनीति। भर्सेलामै परोस् शान्ति र संविधान।

प्रचण्डलाई हेरी सकियो। अब एकपटक बाबुरामलाई हेर्न बाँकी छ। उनी प्रधानमन्त्री भए देशको कायाकल्प हुन बेर लाग्नेछैन। एकपटक रामचन्द्र प्रधानमन्त्री भए लोकतन्त्रको जग एक सातामै मजबुत हुनेछ। एकपटक शेरवहादुर प्रधानमन्त्री भए सरकार सुदृढ हुनेछ। एकपटक त केपी ओलीलाई प्रधानमन्त्री बनाउनै पर्छ। उनी भए अहिलेको राजनीति कि वार हुन्छ कि पार। धन्य हो कि अहिलेसम्म कसैले सुशील कोइराला र मोहन वैद्यलाई प्रधानमन्त्रीका रूपमा हेर्न खोजेका छैनन्। सबैका आआफ्ना संश्लेषण छन्। सबैका आआफ्नै विश्लेषण छन्।

देशको पूरै राजनीतिक नौटंकीमा बदलिएको छ। नेताहरू तमासाका पात्र बनेका छन्। देश त चलिरहेकै छ नि। छैन र?

No comments:

Post a Comment