नेपाल स्पेन समाचार तपाई हरुको हार्दिक स्वागत गर्दै निस्पल्क्ष सत्य र राजनैतिक तथा सामाजिक समाचार लाई प्राथमिकता दिदै समाचार को अपेक्षा गर्दछ

गृह - बिचार तथा बिस्लेशण - शुभ कामना- साहित्य- प्रवासी समाचार- ब्यक्ती / ब्यक्तित्व- मोडेल - धर्म- ड्राईभिङ - भाषा परिवर्तन - फन्ट डाउन्लोड -नेपाली टाईप - हाम्रो बारेमा

Sunday, March 13, 2011

कांग्रेस र कम्युनिस्टको सत्य < किशोर नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मान्यवर कामरेड द्वय माधवकुमार नेपाल र खड्गप्रसाद ओलीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को गृह मन्त्रालय चलाउनसक्ने वाञ्छनीय योग्यताका बारे जतिसुकै चर्को स्वरमा प्रश्न उठाए पनि माओवादीसँग एमालेको भावनात्मक एकीकरण
 यसपटक स्वाभाविक गतिमा अघिबढ्ने लक्षण देखापर्न थालेका छन्। उहाँहरूले उठाउनु भएको यस प्रश्नले प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयुक्त नेतृत्वको सरकारलाई चिढाउनेभन्दा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेललाई जिस्क्याउने उद्देश्य राखेको देखिन्छ।
खनाल र दाहाल संयुक्तरूपमा सरकार चलाउने अभ्यासमा लाग्नुभएको अवस्थामा गृह मन्त्रालयको विवाद चर्काएर नेपाल र ओली अहिलेको वामपन्थी धारको विपरीत दायाँबायाँ लाग्ने सम्भावना छैन भने पनि हुन्छ। दुवै नेताको उद्देश्य आफू र आफना गुटका कार्यकर्ताका लागि बढीभन्दा बढी सरकारी सुविधा कुम्ल्याएर राजनीतिक भविष्य सुरक्षित तुल्याउनुभन्दा बढी केही देखिँदैन। परम्परागत नेपाली शैलीमा माओ सिद्धान्तका भाष्यकार तथा माओवादी पार्टीका उपाध्यक्ष मोहन वैद्यले भन्नु भएजस्तै एमाले र माओवादी दुवैको वंश वृक्ष एउटै हो। त्यसैले पनि दुई पार्टी वीचको यो वंशानुगत सम्बन्धलाई अस्वाभाविक र कृत्रिम भन्न मिल्दैन। नेपाल र ओलीले माओको मूर्तिलाई छोएर माओवादीसँग रगतको नाता रहेको इन्कार गर्न पक्कै सक्नुहुन्न।
संविधान सभा गठन भए यता पहिलोपल्ट माओवादी अध्यक्ष दाहाल संविधान सभामा सक्रिय हुन थाल्नु भएकोछ। यो सामान्य जनताका लागि खुसीको कुरा हो। माओवादी लडाकु समायोजनका जटिलता खुकुलो हुने संकेत आउन थालेका छन्। थपिएको म्यादभित्रै संविधानको पूर्णरूप तयार नभएपनि संविधानको कंकाल तयार हुने र त्यो खाकाले दुइ तिहाई मतका आधारमा जीवन पाउने आशा पलाएकोछ। माधव नेपाल प्रधानमन्त्रीको शीर्ष आसनमा रहेका बेला हुन नसकेका सबै काम झलनाथ खनालको प्रधानमन्त्रित्वमा पूरा हुने संकेत आउनु एमालेका ती सवै कार्यकर्ताका लागि खुसीको कुरा हो जो माओवादीसँग भावनात्मक एकीकरणका लागि छटपटाइरहेका थिए। शासन र सत्तामा कम्युनिस्टहरूको वर्चस्व स्थापित गर्ने सपना साकारहुने सम्भावना बढी रहेका बेला जीब्रोको स्वाद फेर्ने हिसाबले मात्रै सरकारको मिनमेख निकालेको सुन्न एमाले कार्यकर्ता तयार देखिएका छैनन्। दुई पार्टीका स्थानीय तहका कार्यकर्ताबीचमा बेलाबेलामा हुने गरेका शारीरिक झपटका जेजस्ता कारण भएपनि सिंहदरवारमा त्यसको असर खासै पर्दैन। खनाल-दाहाल नेतृत्वको सरकार वृहत्तर स्वार्थमा एक भइसकेका बेला कुन गाउँको पुष्पकमलले कुन गाउँको झलनाथलाई कति जोडले ठोक्यो भन्ने गौण हुनजान्छ।

यो ठोकठाकमा कांग्रेसको संलग्नता रहने भए निश्चय पनि यसले राजनीतिकरूप लिने थियो होला। तर, कांग्रेसको अवस्था चाहिनेभन्दा वढी नै निरीह देखिएको छ। कुनै न कुनै दिन त माधव नेपालको मन पग्लिएला र एमालेको समुच्चा मत पाएर प्रधानमन्त्री बनौला भन्ने आशाका साथ सत्र पटकसम्म प्रधानमन्त्री पदको उम्मेदवारी धान्नुहुने संसदीय नेता पौडेल यति बेला आफनो इतिहासको लमाइ नाप्दै हुनुहुन्छ। उहाँका अघिपछि निर्वाचित र मनोनीत सभासद लाम लाग्दा पनि आफन्तको सानो घेराबाट बाहिर आउन नसक्ने पौडेलको नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ। संविधान सभामा कांग्रेस एक्लिन थालेकोमा सभासदहरूको चिन्ता बढ्न थालेको छ। वामपन्थीहरूबीचको बढ्दो भावनात्मक एकीकरणको चापमा परेर निसासिँदै गएका कांग्रेसी सभासद आफ्नो र पार्टीको भविष्यको खोजीमा छटपटाउन थालेकाछन्। संसदीय नेताको यही प्रकारको व्यवहार रहिरहने हो भने वामपन्थीले संविधानको कंकाल तयार पार्दा कांग्रेसको हिस्सामा करंगको एउटा पातो पनि नपर्न सक्छ। संविधान सभाका संवैधानिक प्रस्तावहरूमा साक्षीमात्रै वस्ने हो भने कांग्रेसको अस्तित्व संकटमा पर्नेछ। संविधान बन्दैन भन्ने अड्कलमा रमाएर हो कि किन हो संविधान सभाभित्र कांग्रेसको पूरै नेतृत्व पंक्तिमा यसको चिन्ता देखिँदैन।

संस्थागत विकास र सुदृढीकरण शब्दहरूलाई थेगो बनाउनुहुने कांग्रेस सभापति सुशील कोइराला आफ्नै अलमलमा अलमलिएर दिन बिताउँदै हुनुहुन्छ। एकातिर दिवंगत सभापति गिरिजाप्रसाद कोइरालाको उत्तराधिकार सम्हाल्न लालयित शशांक, शेखर र सुजाताबीच सम्बन्धको सन्तुलन मिलाउन उहाँलाई हम्मे परेको छ। भारतमा पो एक्लै राहुल गान्धी थिए र सोनियालाई सजिलो भएको थियो। यहाँ त तीन तीन कोइराला सन्तति मैदानमा उभिएर उहाँलाई चुनौती दिन खोज्दैछन्। आफैँले उपसभापति र महासचिवमा प्रस्ताव गरेका नामको अनुमोदनसमेत समस्यामा परेका बेला सभापति कोइरालाका अगाडि चुनौतीका डुंगुर छन्। न त कांग्रेसले मधेसमा गाडिएको आफ्नो जरो पहिल्याउन सकेको छ न पहाडमा फैलिएको हांगो जोगाउन सकेको छ। महाधिवेशनको पूर्व संध्यामा पचहत्तरै जिल्लामा हरियो देखिएको कांग्रेसको बगैंचा अहिले निर्जन भइसकेको छ। कांग्रेसको पार्टीका भ्रातृ र भगिनी संगठन सबै असरल्ल छन्। अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भएको छ। सोसलिस्ट इन्टरनेसनलसँगको सम्बन्ध शिथिल भएकोले युरोपेली देशहरूसँगको सम्वन्ध त्यही अनुपातले बिच्किएकोछ।

सभापति कोइरालालाई समर्थकहरूले गुथाइदिएको त्याग र तपस्याको पगरी गह्रुंगो लाग्न थालेको हुनुपर्छ। पार्टीलाई बढी खुला र बढी समावेशी बनाउँदा पारिवारिक वर्चस्व थेग्न नसकिने र नबनाउँदा आइपर्ने सुनामी धान्न नसकिने मारमा पर्नुभएको छ सुशील कोइराला। उहाँ पार्टीभित्र र बाहिर मेलमिलापको वातावरणको पक्षमा देखिनुहुन्न। माओवादीसँग सहकार्य गरेर सरकार निर्माणको आँट गरेको भए कांग्रेस लाभको स्थितिमा रहन्थ्यो। तर, कांग्रेस आफ्नै स्वर्गीय सभापतिले प्रारम्भ गर्नुभएको शान्ति प्रक्रियामा सक्रिय रहन सकेन। माओवादीप्रति आवश्यकताभन्दा बढी नै आक्रामक सभापति कोइरालाको आक्रोश मेलमिलापवादी मान्यताविरुद्ध थियो। नयाँ संविधानको पनि खासै चिन्ता रहेको देखिँदैन उहा"मा। अहिले जतिसुकै राम्रो संविधान बनाए पनि चुनावपछि दुई तिहाइ बहुमत ल्याएर कम्युनिस्टहरूले संशोधन गरी हाल्छन् भने अहिले नै संविधान किन बनाउने? भन्ने पराजित मानसिकताको सिकार बन्दै आउनुभएका सभापति कोइरालाले संविधानको कंकालमात्र भएपनि खडा गर्ने माओवादी अध्यक्ष दाहालको भनाइमाथि कुनै प्रतिक्रिया दिनुभएको छैन।

कांग्रेसको यस अवस्थाले वामपन्थीलाई उत्साहित बनाउनु स्वाभाविकै हो। दोस्रो जनआन्दोलनको समाप्तिसँगै अध्यक्ष दाहालले प्रारम्भ गर्नुभएको राजनीतिक ध्रुवीकरणले अझै तीव्र गति लिन थालेको यस समयमा कांग्रेसभित्र जस्तो गतिशीलता देखिनुपर्ने थियो, त्यो देखिएको छैन। कम्युनिस्टहरू कांग्रेसलाई अनुदार पार्टीका रूपमा एउटा कुनामा पन्छाउने वा थन्क्याउने प्रयत्नमा लागेका छन्। तै पनि, कांग्रेसले यसको प्रतिकारमा उत्रिनु जरुरी सम्भि्कएको छैन। अहिलेको समीकरण भत्काउनसक्ने क्षमता चुकी सकेको छ कांग्रेसमा। आफूले राजनीतिक सहयात्री ठान्दै आएको एमाले एकाएक कांग्रेसलाई मुख्य शत्रु मान्ने राजनीतिक धारमा उभिएपछि कांग्रेस नेतृत्व बिलखबन्दमा परेको हो। प्रधानमन्त्री खनालले जतिसुकै प्रयास गरेपनि कांग्रेस अहिलेको गठबन्धनमा सामेल हुन सत्तै्कन। संविधानका विषयमा केही मान्यता छन् भने पनि कांग्रेसको नेतृत्वमा तिनलाई अघि बढाउने आ"ट र योजना दुवैको अभाव छ। कांगे्रस संस्थापन आफ्नो सिद्धान्तका पक्षमा गुणात्मक जनमत तयार गर्ने अभियानमा निष्त्रि्कय देखिएको छ। तैपनि, कांग्रेसका सबै प्रमुख नेता 'ऐन वक्त'मा कुनै न कुनै चमत्कार हुने आशाले हो कि यति बेलासम्म ढुक्क देखिएका छन्। तर, त्यस्तो कुनै चमत्कारको आशा गर्नसकिने परिस्थिति न त अहिले नै छ, न पछि निर्माणहुने लक्षणै देखिएका छन्।

No comments:

Post a Comment