नेपाल स्पेन समाचार तपाई हरुको हार्दिक स्वागत गर्दै निस्पल्क्ष सत्य र राजनैतिक तथा सामाजिक समाचार लाई प्राथमिकता दिदै समाचार को अपेक्षा गर्दछ

गृह - बिचार तथा बिस्लेशण - शुभ कामना- साहित्य- प्रवासी समाचार- ब्यक्ती / ब्यक्तित्व- मोडेल - धर्म- ड्राईभिङ - भाषा परिवर्तन - फन्ट डाउन्लोड -नेपाली टाईप - हाम्रो बारेमा

Saturday, February 26, 2011

बूढो कांग्रेस अब कता? > खगेन्द्र संग्रौला

आहानमा कुँदिएको सत्य भन्छ- गोरु बूढो भए भिर खोज्छ, मान्छे बूढो भए जोरी खोज्छ। आदि कवि भनेझैँ हाम्रो कांग्रेस आदि प्रजातन्त्रवादी दल हो। यो आदि बूढो भएर आफ्नो अवसानमुखी अन्त्यतिर ओरालो लागेको दुखद् छनक पाइन थालेको छ। अधोमुखी कांग्रेस जटिल राजनीतिको जाली खेलमा खालि यस्तो र उस्तोको अत्तो थापेर जोरी खोजिरहन्छ। 'प्रजातन्त्र, राष्ट्रियता र समाजवाद' कांग्रेसको चिनारीसूचक चिन्ह थियो। त्यो अब छैन। बूढो कांग्रेसले आफ्नो गौरवशाली परिचय भुसुक्कै बिर्स्यो। अहिले 'प्रजातन्त्र, राष्ट्रियता र समाजवाद'को सट्टा कांग्रेसको जर्जर जिब्रोमा 'वाइसीएलको केजाती अर्द्ध', 'जफत सम्पत्ति' र 'नागरिक पार्टी'जस्ता स्तोत्र झुन्डिएका छन्। यी तीन स्तोत्र अग्रगामी एवं तुफानी राजनीतिका पाद टिप्पणीमात्रै हन्। राजनीतिको शीर्षक र पेट बेहोरा यी होइनन्। शीर्षक र पेट बेहोरा त शान्ति र संविधान पो हन्। शीर्षक र पेटबेहोरा मिल्दै जाँदा पाद टिप्पणी स्वतः मिल्दै जान्छ। तर कांग्रेस भने हत्ते हालेर 'पाद'पट्टि नै लहसिएको छ।
एक समय थियो जब कांग्रेस उदाउँदो सूर्यझैँ लोकको आशा र भरोसाको केन्द्र थियो। ऊबेला जातिभेदी टुप्पी काट्ने र जनै छिनाउने कांग्रेसै थियो। बालविवाह र बहुविवाहलाई निषेध गर्न खोज्ने कांग्रेसै थियो। विधवा विवाहको पुर्पच्छे गर्ने र 'अछुत'हरूसँग सहभोजनमा नारिने कांग्रेसै थियो। रजौटा र बिर्ता उन्मूलन गर्ने कांग्रेसै थियो। शिक्षा र स्वाथ्य भोका र नाङ्गाहरूको अकाट्य हक हो भन्ने कांग्रेसै थियो। असफल भूमिसुधारको साहसिक चेष्टा गर्ने पनि त आखिर कांग्रेसै थियो। त्यो कांग्रेस प्रगतिशील थियो। त्यो कांग्रेस जनजनका घरदैलामा हाजिर थियो र जनजनका मनमा प्रिय थियो। अहिले यो सब सुदूर अतीतको पत्याउनै गाह्रो लाग्ने कथातुल्य भएको छ। कांग्रेससँग त्यो गौरवको हिङका त के करा, हिङ बाँधेको टालोधरी छैन। नाकैअगाडिको उदाहरण अस्तिताकको सभापतिको चुनाव हो। चुनावमा 'प्रजातन्त्र, राष्ट्रियता र समाजवाद'को पुरानो झोली बोकेर भीमबहादुर तामाङ खडा भए। सादापन, त्याग र इमानका प्रतिमूर्ति मानिने उनै सुपरिचित भीमबहादुर दाइ। तर, आदि कांग्रेसको आदर्श र इतिहास, आवेग र गौरव सबै बिर्सिएका वृद्ध कांग्रेसीले तामाङलाई हराए। बागी, परिवर्तनकामी र प्रगतिमुखी भनेर फुर्क्याइएका युवासमेत पार्टी संस्थापनको पत्रु संरचनाभित्र मुन्टो लुकाउने खोपी खोज्दै बजारभक्त र कर्मकाण्डी कांग्रेसी दाज्यैज्यूहरूकै निस्तेज छाया भएर तामाङ दाइलाई पछार्न कस्सिए। वास्तवमा तामाङको पराजय कांग्रेसको सिद्धान्त र आदर्श, इतिहास र कीर्तिमानकै पराजय थियो। अहिले मेरा बाजेले घिउ खाएका थिए, मेरा हात सुँघिहेर त भन्दै अतीतमुखी बूढो कांग्रेस काखी कन्याइरहेको छ। सिद्धान्तलाई कुल्ची हिँड्ने र आदर्शमा आगो झोस्ने कांग्रेसी जमातसँग गौरव गर्न लायकको जिनिस अब केही छैन। छ त ऊसँग केबल गनगन छ, रोइलो छ, घुर्की छ, धारे हात हल्लाइ छ, अत्तो थपाइ छ। र, यी सबैभन्दा माथि छ रुग्ण कांग्रेसको थकित र आहत सुस्केरा।
कांग्रेसभित्र दुइथरी तत्व वर्चस्वशाली छन्। पहिलो थरीमा चार थान डाक्टर पर्छन्। यी डाक्टरहरूको आर्थिक दर्शनमा दलित, गरिब र सीमान्तकृत जनहरूको उत्थान, समुन्नति र सुखलाई लेसमात्र पनि ठाउँ छैन। निरङ्कुश बजार यिनको परम पूज्य देवता हो। र, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषका कर्पोरेट सेठहरू यिनका प्रातःस्मरणीय इष्टदेव हन्। कांग्रेसमा देखिने यिनै डाक्टर छन्। मिडियाले पत्याउने यिनै छन्। आलोपालो गरी मन्त्री भइखाने यिनै छन्। उसो त जनसाधारणको भाग्य र भविष्यमाथि बेलगाम बजारको तरबार चलाइरहने पनि यिनै छन्। कांग्रेसमा अर्काथरी बलशाली जो छन् ती कर्मकाण्डी पुरेतजस्ता लाग्छन्। ती सनातनी गुलामी परम्पराको पुच्छर समातेर पशुपतिको पुजारी चोखो भारतीय नै हुनुपर्छ भन्दै जुलुस निकाल्छन्। ती सराद्धेमा बिरालो बाँध्ने अन्धमतिपथमा कटिबद्ध छन्। कांग्रेसलाई यथास्थितिको दलदलमा अल्झाएर पतनको रसातलमा गिराउन यी दुईथरी हस्त नै पर्याप्त छन्।
एकताका समाजवादका पण्डित भनिकन कहलिएका रामचन्द्र पौडेल सोह्र राउन्ड चुनाव लडेर थच्चिए। उनको चुनावी चेष्टाको चुरो कुरो बहुमते सरकार बनाउनु थियो। त्यो अहिले बनेको छ। प्रधानमन्त्रीको गद्दीमा झलनाथ खनाल पुष्पकमल दाहालको काँधमा बोकिएका छन्। तर, रामचन्द्रगणलाई यो मन परेको छैन। आफू उही बाटो गरी उस्तै प्रधानमन्त्री भए उत्तम हने, अर्को भए अधम हुने राचन्द्रीय चिन्तन देखेर दुनियाँ जिल परेको छ। जिज्ञासु जनगण कांग्रेसलाई सोध्छ- लडाकु समायोजनबारे कांग्रेसको तर्कसंगत र न्यायोचित खाका के हो? वृद्ध कांग्रेस पुलुक्क दिल्लीतिर हेर्छ, यसोक्क वासिङटनतिर मुन्टो घुमाउँछ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषतिर चियाउँछ र लामो सुस्केरा हाल्छ। ऊसँग आफ्नो सोचाइ, योजना र जुक्ती केही छैन। जनगण कांग्रेसलाई सोध्छ- सङ्घीय गणतन्त्र नेपालमा नेपाली जनताका क्षेत्रीय र जनजातीय पीडालाई न्यायको चौतारीमाथि सम्बोधन गर्ने कांग्रेसको योजना के छ? सुस्त कांग्रेस कान कन्याउँछ, औँला पड्काउँछ, फुस्रा ओठ चाट्छ र धुलोमा दृष्टि स्थिर गर्छ। ऊसँग कुनै मूर्त सोचाइ छैन। जनगण सोध्छ- सामाजिक न्यायको खोजीमा समाजवादतिर पाइला चाल्नैपर्ने नवनिर्माणमुखी नेपालमा सम्पत्तिको पुनःवितरणबारे कांग्रेसको राय के छ? समाजवाद भन्ने शब्द सुन्दैमा कांग्रेसका बजारभक्त डाक्टरहरूका कन्चट तातेर आउँछन् र कर्मकाण्डी कांग्रेसहरू समाजवादमा आफ्नो सनातन धर्म धरापमा पर्ला कि भनेर तिल्मिलाउँछन्। यस्तोमा कांग्रेसी रामचन्द्र प्रधानमन्त्री नभएर मुलुकलाई के घाटा भो? झलनाथ प्रधानमन्त्री भएर कांग्रेसलाई किन टाउको दुख्यो? झलनाथ आखिर विधिको छाता ओडेर, नीतिको साँघ तरेर र संविधान सभाका मत गनेर न प्रधानमन्त्री बनेका हन्। रामचन्द्रले सकेनन्, झलनाथले बाजी मारे। सहमतिको सरकार बने हन्थ्यो भनी गर्नुसम्म कामना गरिएकै हो। तर, कांग्रेस र माओवादीका फाटेका चित्त नजोडि“दा त्यो बनेन। बहुमते नै सही, अहिले सरकारबिनाको देशमा सरकार त बन्यो कि। यो सत्यलाई सविनय स्वीकार्न कांग्रेसलाई किन यतिविधि कन्नु परेको हो?
अत्तो थाप्ने मुडमा कांग्रेस भन्छ- पुष्पकमल–झलनाथको सात बुँदे मितेरीपत्र रहस्यमय र आपत्तिजनक छ। गए बरु ज्यान जाला, यसलाई मानिदैन। यो कांग्रेसी कथनमा विधि, नीति र तर्कको बलभन्दा पनि भयको भूतको भूमिका प्रबल छ। झलनाथले 'हुन्छ' भनिदिएर र माओवादीले कनेर माओवादी लडाकको अलग फोर्स हुने होइन। यो 'अलग'ले समायोजनको अभिप्राय र मर्मसित मेलै खाँदैन। पुष्पकमल र झलनाथले रहर गर्दैमा तिनले प्रधानमन्त्रीको गद्दी आलोपालो गरी भोग गर्न पाउने पनि होइनन्। तर, कांग्रेस केबल गनगन गर्दै, अत्तो थाप्दै र धारे हात लाउँदै हिँडिरह्यो भने आलोपालो गर्ने त आखिर यिनैले हो। दलको आकारमा ठूला यिनै छन्। बालिग नागरिकहरूले पत्याएका यिनै छन्। आफू चुनिन नसक्नु र चुनिएकाको डाहा गर्नु राजनीति होइन। यो भ्रमित नीति हो। यो भाँजोकारी नीति हो। यो इतिहासको रथलाई गतिमान बन्न नदिने अधोमुखी मति हो। यस्तो मति लिने कांग्रेसको गति के हुने हो?
बिसाउनै नमिल्ने गरी पुष्पकमलले झलनाथ खनाललाई काँधमा बोकेका छन्। दाहालका काँधमा खनाल यसरी टाँसिएका छन् अब तिनलाई बोकेर ठस्ठसी कन्दै जेठ १४ तिर नहिँडी दाहाललाई धरै छैन। यसको अर्थ हो, अब माओवादी राजीखुसीले वा करलाग्दी गाभिएर सरकारले आकार लेला। के कांग्रेस शान्ति र संविधानको अलपत्र परेको कथालाई पूर्ण र मूर्त रूप दिन इच्छुक छ? छ भने सरकारमा कांग्रेस सामेल किन नहुने? हिजो एमालेका डबल हरुवा माधवको छत्रछायामा नारिएर मन्त्रीको जागिर खान कांग्रेसलाई आफ्नो जात, गोत्र र धर्मले छेकेन। आज जितुवा झलनाथको छत्रछायामा उभिन कांग्रेसलाई केले छेक्छ? कांग्रेसको एमाले सरकारका माधव भनेको मान्ने र दिउन्जेल खाने सजिला पात्र हुँदा हुन्। माओवादीको एमाले सरकारका झलनाथ त्यति सजिला पात्र नहोलान्। तर, संविधानमा सकल नेपालीको भाग्य लेख्ने पुनीत कर्ममा चुनौतीपूर्ण कर्ताका रूपमा सरकारको अङ्ग नबने के नेपाली कांग्रेस जोगी हने हो त?
कोही एक नभएर इतिहासको कुनै पनि डबली कहिल्यै खाली हुँदैन। रामे नभए त्यहाँ च्यामे हुन्छ। कांग्रेस नभए त्यहाँ कम्निस्ट हन्छ। परिवर्तनमुखी इतिहासको प्रवाह उत्ताल वेगका साथ बगिरहेको छ। कांग्रेसीगण प्रवाहको किनारामा हनुमाने कट्टु लगाएर अत्तो थाप्दै कुदिरहेको छ। इतिहासको गति र प्रवृत्तिमा हस्तक्षेप गर्न त प्रगतिशील परिर्वनका उत्तम विकल्प लिएर प्रवाहमा होमिनु पो पर्छ। बरा, यही चाल हो भने हाम्रो बूढो कांग्रेस गनगन गर्दै र इतिहासको किनारैकिनार कुद्दाकुद्दै खिएर सकिने भो!